बागलुङ । बागलुङको गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी बेलकुमारी गौतमको हत्यामा संलग्न सोही गाउँका इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
फागुन १९ गते राति ६५ वर्षीया गौतमको शव आफ्नो घरको पूर्व पाण्डुकेसरी वनको गोरेटो बाटोदेखि अन्दाजी ६० मिटर तल भिरमा फेला परेको थियो ।
मृतावस्थामा फेला परेकी गौतमको गहना लुटिएको देखेपछि लडेर नभई हत्या भएको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानको क्रममा विकले हत्या गरेको पुष्टि भएपछि प्रहरीले उनलाई आइतबार सार्वजनिक गरेको छ ।
गलकोट नगरपालिका–९ चुँदारा टोल बस्ने ४३ वर्षीय इन्द्रबहादुर विकले पछाडिबाट चिउँडो र टाउकामा समाती मुन्टो बटारी हत्या गरेर गहरगहनासमेत लुटी भिरबाट खसालेको अनुसन्धानका क्रममा पाइएकाले पक्राउ गरेर सोमबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । विकले अनुसन्धानका क्रममा आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend