काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ । मङ्गलादेवी सिंह फाउन्डेसनले काठमाडौँ महानगरपालिकाको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘नेपाली महिला आन्दोलनमा महिला सशक्तीकरण, राजनैतिक चेतना एवम् सामाजिक जागरण ल्याउने कार्यमा योगदान पु¥याउने महिलाको सम्मान कार्यक्रम’मा उहाँले महिला सशक्तीकरण भएमा मात्र समानतामूलक समाज निर्माण हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउनसक्ने पार्टीका रुपमा स्थापित गराउनका लागि पार्टीमा आबद्ध महिलालाई अझ बढी सशक्तीकरण गर्दै अगाडि बढ्नुपर्छ, महिलालाई सशक्त बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास मैले लिएको छु । ” सभापति देउवाले नेपाली महिलाको हक, अधिकार संविधानमा नै स्थापित गराउने काममा स्व. मङ्गलादेवी सिंहले खेल्नुभएको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले समावेशी, समानुपातिक र महिला, हक अधिकारको दृष्टिले नेपालको संविधान विश्वकै संविधानमध्येको उत्कृष्ट दस्तावेजका रुपमा रहेको छ भन्नुभयो । सभापति देउवाले कांग्रेसले संविधानअनुसार महिलालगायत सबै समुदायको प्रतिनिधित्वलाई सुनिश्चित गराउने काम गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा लीला कोइराला (धनुषा), लक्ष्मी राई (भोजपुर), अञ्जु बस्न्यात (दोलखा), कृष्ण अमात्य (काठमाडौँ), चिरीहिरा शाक्य रञ्जित (काठमाडौँ), सीता दाहाल (सङ्खुवासभा), हनि श्रेष्ठ (सर्लाही), शारदा वैद्य (कास्की), शान्ता शर्मा (कञ्चनपुर), सोना भण्डारी (काठमाडौँ) र शशी रिमाल (काठमाडौँ)लाई रु १५ हजार नगदसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend