logo

२०८३ साउन १३ बुधबार

मातृभाषा सिक्दै दुरा समुदाय

मातृभाषा सिक्दै दुरा समुदाय


हाम्रो राष्ट्र
  • बुधबार, २१ चैत्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ ।

    दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना गरिएको दुरा सेवा समाजका सदस्य दिलु दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ । हामीलाई मातृभाषा बोल्न आउँदैन । तालिम सञ्चालन गरी भाषा सिकाएर यसको संरक्षण गर्न खोजेका हौँ ।”

    दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूनाअनुसारको पाठ्यसामग्री समावेश गरिएको छ ।

    दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताउनुभयो । सोही वडाका सदस्य गोकुल दुराले भाषा सिक्नु भनेको पहिचान जोगाउनु हो भन्नुभयो ।

    दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिनुभयो । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहनुभएको छ ।

    दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द सङ्कलन गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँमा बुढापाकासँग मैले शब्दहरू सङ्कलन गरेँ । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिँदै जान थाले ।”

    तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ । रासस

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend