logo

२०८३ साउन १३ बुधबार

मुख्यमन्त्रीसँग गन्धर्व बस्तीका गुनासा

मुख्यमन्त्रीसँग गन्धर्व बस्तीका गुनासा


हाम्रो राष्ट्र
  • बुधबार, २१ चैत्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । आफूहरुले नसोचेको भएपछि अर्थात् आफ्नै घरआगनमा मुख्यमन्त्रीलाई अकस्मात पाउँदा झापाको कचनकवल गाउँपालिका–२ का गन्धर्व समुदायका नागरिक निकै खुसी भएका छन् । सो बस्तीमा गत सोमबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पुग्नुभएको थियो ।
    यही चैत १९ गते सोमबार राति कोशी प्रदेशका मुख्यमन्त्री आफ्ना नियमित कार्यक्रम सकेर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका–२ तर्फ लाग्नुभएको थियो ।
    समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायको बस्तीमा झमक्क साँझ परेका बेला सुरक्षाकर्मीका साथ मुख्यमन्त्री कार्कीलाई देखेर अचम्भित हुँदै हतारहतार स्वागत तथा सम्मानमा समुदाय जुटेको थियो । मुख्यमन्त्री कार्की स्वागत तथासम्मानको वास्ता नगरी गन्धर्व बस्ती घुम्न अघि बढ्नुभयो । उहाँ गन्धर्व बस्तीको आँगन–आँगनमा घुम्दै राति ८ बजे शिव गन्धर्वको आँगनमा ओछ्याइएको म्याटमा पलेटी बाँधेर बस्नुभयो  ।
    त्यतिकैमा गन्धर्व बस्तीका महिला, पुरुष, वृद्धवृद्धालगायत बालबालिकाको भीड लाग्यो र उहाँहरुले खाँदा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्नुभयो । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नुहुँदैन भन्दै आज यही खाना खाएर बस्ने भनेपछि यहाँ रहेका धेरैलाई अचम्म पनि लाग्यने । शिव गन्धर्व र उहाँकी पत्नीले आँगनको ट्युबेलमा थाल पखालेर खाना खान भान्छा कोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उहाँसँगै रहेका सबैले गएर खाना खानुभयो ।
    खानापछि मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरुसँग कुराकानी गर्न थाल्नुभयो । उहाँहरुले आफ्ना कथा र व्यथा सविस्तार सुनाउँदै जानुभयो । “मुख्यमन्त्री कार्कीले हाम्रा समस्या हामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो”, स्थानीय नरमाया गन्धर्र्वले भन्नुभयो, “हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ । अहिले त हामीसँगसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएका छौँ ।” सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा अत्यन्त खुसी लागेको उहाँले सुनाउनुभयो ।
    आफूलाई समाजमा गाइनेको सङ्ज्ञा दिएर हेप्ने गरेको गुनासो गन्धर्वहरुको थियो । सो जातिको बस्तीको नजिकै आदर्श आधारभूत विद्यालय रहेको जनाउँदै उक्त विद्यालयलाई गन्धर्र्व जातिको पहिचान हुने गरी शिक्षा लागू गराइदिन, शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरी दिन मुख्यमन्त्री समक्ष स्थानीयवासीले माग गरेका छन् ।
    स्थानीय शिव गन्धर्वले भन्नुभयो, “लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नुपर्दछ । मुख्यमन्त्रीज्यूले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आशावादी छौँ ।” उहाँहरूले लोपोन्मुख जातिको रूपमा गन्धर्वलाई सूचीकृत गर्न पनि माग गर्नुभयो ।
    संविधानअनुसार यो जातिलाई लोपन्मुख जातिको रूपमा सूचीकृत गरिएमा हाम्रा अधिकार प्राप्त हुन सहज हुने पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष रवीन गन्धर्वले बताउनुभयो । मुख्यमन्त्री कार्कीले सरकार खोज्दैँ जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्ने उद्देश्यले यहाँका स्थानीयसँग समस्याको समाधानका लागि संवाद गर्न आएको बताउनुभएको अध्यक्ष रविनले जानकारी दिनुभयो ।
    पहुँच नहुनेको घरघरमा गएर समस्या समाधान गर्ने सरकारको दायित्व भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काम गरिरहेको मुख्यमन्त्री कार्कीको भनाई रह्यो । ‘सरकारले मानवीय विकासका लागि योजनामार्फत सुरुवात गरिसकेको छ । स्थानीयले पनि सहयोग र दबाब दिनुपर्छ’ भनेर मुख्यमन्त्री कार्कीले भन्नुभएको रवीनको भनाइ छ ।
    समाजका अध्यक्ष रवीनका अनुसार यहाँ ४९ घरधुरी रहेको गन्धर्व समुदायको जनसङ्ख्या दुई सय ११ छन् । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रवर्द्धनको योजना सरकारले ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो ।
    मुख्यमन्त्री कार्कीले सामाजिक विभेद् अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीयवासी शिव गन्धर्वको घरमा सो दिन रातिको खाना र बास बसेर सन्देश प्रवाह गर्नुभएको छ । उहाँले भन्नुभएको थियो, “अब मलाई  कसैले अछुत भन्छ त, म त तपाईँहरूकोमा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाईँहामीले सहकार्य गर्दै आगाडि बढ्नुपर्छ ।”
    सो क्रममा मुख्यमन्त्री कार्कीले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तर संवाद गर्दै हुलाकी सडकअन्तर्गत अधुरो अवस्थामा रहेको माई खोला पुलको अवलोकन गर्नुभएको थियो । अवलोकनपछि उहाँले अधुरा पुलको निर्माण सम्पन्न गर्न सङ्घीय सरकारसँग ताकेता गर्ने आश्वासन पनि दिनुभएको समाजका अध्यक्ष रवीनले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend