काठमाडौं । तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ । अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।
मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अनुगमन हुँदै आएको र त्यस क्रममा सडक मानव भेटिएका छैनन् । सबै सडक मानवलाई उद्धार गरेर आश्रममा राख्न थालेपछि अब यहाँ त्यस्ता मानिस नभेटिका हुन् ।
हालसम्म ६० जनाभन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको छ । “हामी आश्रममा ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उहाँले भन्नुभयो, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म ६० जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा ‘फलोअप’ पनि हुने गरेको उहाँले जानकारी दिनुभयो ।
अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइएको प्रमुख जोशीले बताउनुभयो । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । वडा कार्यालय, प्रहरीलगायत सर्वसाधारणले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेका छन् । मनकारी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend