बैतडी, ७ वैशाख : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताउनुभएको छ । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताउनुभयो ।
सहमहामन्त्री राठोरले भन्नुभयो, “जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अन्त्य गर्न, रैतीबाट नागरिक बनाउन कांग्रेस खुलेर राजनीतिमा आएको हो । कांग्रस सबै जात, धर्म र वर्गको पार्टी हो । हामी स्थानीय स्रतो परिचालन गर्दै विकासका गतिविधिमा गरिरहेको छौँ ।” उहाँले कांग्रेस विकासको सुत्राधार रहेको बताउनुभयो ।
बिपी कोइरालाको विचार बोकेको पार्टी भएकाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गर्दै एकढिक्का भएर लाग्नुपर्नेमा सहमहामन्त्री राठोरले जोड दिनुभयो । उहाँले भन्नुभयो, “टोल र वडाबाटै पार्टीलाई बलियो बनाउनुपर्छ ।”
नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा उपसभापति खगेन्द्रसिंह धामी, सचिव प्रेम चन्द, सहसचिव दीपेन्द्रबहादुर चन्द, कोषाध्यक्ष चक्रबहादुर चन्द, वडासभापति, पालिकासभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य, भ्रातृ तथा सुभेच्छुक संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend