चैनपुर (बझाङ), १५ वैशाख : बझाङ क्षेत्र नं १ प्रदेशसभा (क) को उपनिर्वाचनमा आज दिउँसो ३ः२० बजेसम्ममा ४३ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्ममा २६ हजार पाँच सय मत खसेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । प्रदेशसभा (क) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत लामिछानेले राससलाई जानकारी दिनुभयो ।
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । प्रदेशसभा (क) मा ६१ हजार सात सय ४८ मतदाता रहेका छन् । गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (एमाले) का दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढा, राप्रपाका किशोरकुमार खड्का, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर खड्का, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापा, जनमत पार्टीकी सुशीलादेवी विष्ट र नेशसनल रिपब्लिकन नेपालका कमल घर्तीमगरबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
–––
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend