logo

२०८३ असोज ७ बुधबार

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की


हाम्रो राष्ट्र
  • बिहिबार, २० बैशाख २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताउनुभएको छ । झापाको शिवसताक्षी नगरपालिका–६ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन तथा जग्गादातालाई सम्मान गर्दै उहाँले कोशी प्रदेश सरकार विकासका काममा अग्रसर भएको उल्लेख गर्नुभयो ।

    भौतिक पूर्वाधारको विकासलाई मात्रै विकास ठान्ने परिपाटीले समाजमा समस्या उत्पन्न भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मानवीय संवेदना र सामाजिक मूल्य मान्यतासहितको विकासमा हामी निकै पछिपरेका छौँ, यसतर्फ प्रदेश सरकार गम्भीर छ ।”

    मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सुरु गरेको बालबालिकाको निःशुल्क उपचारसम्बन्धी कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक पालिकामा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक विषयको पढाइमा अनुदान दिने कार्यक्रम अघि बढाएका छौँ, हात्ती प्रभावित क्षेत्रमा लगाइने कृषि बालीको बीमा गरेका छौँ, यसका लागि थप बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।”

    कागजी दस्तावेज मिलाएर त्यसैका आधारमा सरकारको अनुदान दुरुपयोग गर्ने अभ्यासले समग्र व्यवस्थाप्रतिनै निराशा पैदा गराइरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचारमा सहयोग पुग्ने खालका कार्यक्रमलाई प्रदेश सरकारले निस्तेज गर्ने स्पष्ट पार्नुभयो । सो अवसरमा उहाँले वडा कार्यालयका लागि जग्गादान गर्नुहुने जग्गादाता सुरज राजवंशी, दुर्गाप्रसाद गुरागाईँ, चन्द्रमणि पौडेल र देवनारायण भण्डारीलाई सम्मान गर्नुभएको थियो ।

    दाताहरूले संयुक्तरूपमा ११ कठ्ठा जमिन निःशुल्क उपलव्ध गराउनुभएको छ । वडा कार्यालय लामोसमयदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । वडाले आफ्नै भवन तयार गरेपछि दैनिक कार्यसञ्चालनमा सेवाग्राहीलाई सुविधा पुग्ने शिवसताक्षी–६ का वडाध्यक्ष मनोज खुलालले बताउनुभयो । कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, कांग्रेस झापाका सभापति देउकुमार थेवेलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend