logo

२०८३ साउन १४ बिहिबार

अमेरिकाबाट नेपालमा गाँजा तस्करी, तीनजना पक्राउ

अमेरिकाबाट नेपालमा गाँजा तस्करी, तीनजना पक्राउ


हाम्रो राष्ट्र
  • बुधबार, २४ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ ।

    प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो ।

    पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्काेमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ ।

    अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट चार दशमलव पाँच किलो गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन् ।

    उनीहरूको साथबाट भारतीय अधार कार्ड र ८० हजार बरामद गरिएको छ । उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारु बरामद गरिएको जोशीले जानकारी दिए ।

    यस्तै अर्काे घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा बरामद गरिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उनले बताए ।

    उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जोशीले बताए । यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend