logo

२०८३ साउन १३ बुधबार

बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम

बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम


हाम्रो राष्ट्र
  • आइतबार, १३ जेष्ठ २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन गरेको छ ।

    आमा समूहलाई परिचालन गरेर महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनु कार्यक्रमको लक्ष्य भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राससलाई बताउनुभयो । समुदायमा सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत–साधन उपयोग गरी आयआर्जनका काममा संलग्न गराउनु कार्यक्रमको उद्देश्य भएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यो कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन भएको छ । कार्यक्रम वडा २ र १० मा लागू भएको छ ।”

    दुई वर्षअघि कार्यपालिकाको पहिलो बैठकले उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । वडा नं २ मा केराको थामबाट धागो र स्थानीय तितेपाती प्रयोग गरेर साबुन बनाउने तालिम शनिबारदेखि सुरु भएको छ । चौधवटा आमा समूहका ५० जना सहभागी तालिम एक सातासम्म सञ्चालन हुने वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

    तालिममा सहभागीलाई व्यवसाय गर्न कच्चा पदार्थ र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाको महिला तथा बालबालिका शाखाका कर्मचारी प्रतिमा शर्माले बताउनुभयो ।

    गत वर्ष नगरपालिका–३ को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले कुखुरापालन गरेका थिए । वडा नं ९ को गलेश्वर आमा समूहमा आबद्ध २० जना महिलाले चप्पल बनाउने सीप सिकेर व्यवसाय सञ्चालन गरेका थिए । नेप्टेचौरमा ढालमोठ, नमकिन र तोरीपानीमा आलुको चिप्स बनाउने तालिम सञ्चालन भएको थियो ।

    यसैबीच वडा नम्बर १० पात्लेखेतमा एकमहिने वाद्यवादन तालिम सञ्चालन भएको छ । तालिममा २० जना सहभागी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend