logo

२०८३ असोज ७ बुधबार

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह

चिनियाँ राष्ट्रपति सीद्वारा मध्यपूर्व शान्ति सम्मेलनका लागि आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, १७ जेष्ठ २०८१
  • 1.6K
    SHARES

    काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गर्नुभएको छ । उहाँले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक भेलामा अरब नेताहरूलाई सम्बोधन गर्नुभएको हो ।

    राष्ट्रपति सीले यसै साता इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसी, इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र अन्य केही अरब नेताहरूलाई स्वागत गर्नुहुनेछ ।

    चीनले लामो समयदेखि मध्यपूर्वबाट कच्चा तेल आयात गर्दै आएको छ, र हालैका वर्षहरूमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको छ ।

    चीनले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा आफ्नो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकाभन्दा बढी तटस्थ भूमिका निर्वाह गरेको छ र इजरायलसँग राम्रो सम्बन्ध कायम राख्दै दुई राष्ट्र समाधानको वकालत गरिरहेको छ ।

    चीनले आफ्नो ‘बेल्ट एण्ड रोड इन्फ्रास्ट्रक्चर इनिसियटिभ’मा मध्यपूर्वलाई एक प्रमुख विन्दुको रूपमा औंल्याएको छ । यो विदेशमा आफ्नो देशको प्रभाव विस्तार गर्ने सीको प्रयासको मुख्य आधार हो ।

    प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै सीले इजरायल–हमास द्वन्द्व समाधानका लागि ‘व्यापक’ शान्ति सम्मेलनको प्रस्ताव गर्नुभएको छ ।

    “मध्यपूर्व विकासको व्यापक सम्भावना बोकेको भूमि हो, तर अझै युद्ध जारी छ,” सीले भन्नुभयो ।

    उहाँले युद्ध लम्बिन नहुने तर्क गर्दै भन्नुभयो, “युद्ध अनिश्चितकालसम्म चल्नु हुँदैन । न्याय सदाका लागि अनुपस्थित हुनु हुँदैन ।”

    सीपछि बोल्दै इजिप्टका राष्ट्रपति सिसीले गाजा पट्टीका प्यालेस्टिानीहरू आफ्नो युद्धग्रस्त क्षेत्रबाट विस्थापित नहुन् भन्ने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभयो ।

    गाजासँग सीमा जोडिएको इजिप्टले सन् १९७८ मा इजरायलसँग ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको थियो ।

    “म अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा दीर्घकालीन मानवीय सहायता तत्काल उपलब्ध गराउन र इजरायली घेराबन्दी अन्त्य गर्न आह्वान गर्दछु,” सिसीले भन्नुभयो ।

    उहाँले प्यालेस्टिनीहरूलाई जबर्जस्ती आफ्नो भूमिबाट भाग्न बाध्य पार्ने कुनै पनि प्रयास रोक्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

    इजरायली सेनाले गाजा पट्टी र इजिप्टबीचको सीमामा रहेको रणनीतिक फिलाडेल्फिया करिडोरमा ‘गतिविधि नियन्त्रण’ गरेको बुधबार बताएपछि सिसीको यो टिप्पणी आएको हो ।

    यो करिडोरले गाजा र इजिप्टबीचको मध्यवर्ती क्षेत्रको रूपमा काम गरेको थियो र इजरायली सेनाले सन् २००५ सम्म गस्ती गरेको थियो । तर, गाजा पट्टीबाट व्यापक विघटनको भागको रूपमा हमासले उक्त जमिन प्यालेष्टिनी प्राधिकरणसँगबाट फिर्ता लिएको थियो ।

    लण्डनस्थित ‘चाथम हाउसथिंक ट्याङ्क’ का उपप्रमुख अहमद अबौदौहले एएफपीसँग भन्नुभयो, “सिसी इजरायलसँगको उच्च तनावको समयमा चीनको राजनीतिक समर्थन प्राप्त गर्न इच्छुक देखिनुहुन्छ ।”
    चीनले दशकौंदेखि इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई राष्ट्र समाधानको वकालत गर्दै आएको छ ।

    बिहीबार सीले अरब विश्वसँग आफ्नो ‘गहिरो आत्मीयता’ रहेको भन्दै अरब समुदायको प्रशंसा गर्नुभएको थियो ।

    उहाँले भन्नुभयो, “चीन र चिनियाँ जनता तथा अरब देश र त्यहाका जनताबीचको मित्रता प्राचीन सिल्क रोडको मैत्रीपूर्ण आदानप्रदानबाट सुरु भएको हो ।”

    ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत २१ अरब राष्ट्रले बेइजिङसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    “चीनले तेल र ग्यासमा अरब पक्षसँग रणनीतिक सहयोगलाई अझ बढाउनेछ र आपूर्ति सुरक्षालाई बजार सुरक्षासँग एकीकृत गर्नेछ,” सीले भन्नुभयो ।

    “चीन नयाँ ऊर्जा प्रविधि अनुसन्धान तथा विकास र उपकरण उत्पादनमा अरब पक्षसँग काम गर्न तयार छ,” उहाँले भन्नुभयो ।

    चीनले गत वर्ष साउदी अरब र उसको लामो समयदेखिको शत्रु इरानबीच मध्यस्थता गरेर यस क्षेत्रमा आफूलाई मध्यस्थकर्ताको रूपमा स्थापित गर्ने काम गरेको छ ।

    गत महिना उसले ‘अन्तर–प्यालेस्टिनी मेलमिलापलाई बढावा दिने विषयमा गहन र स्पष्ट वार्ताका लागि’ प्रतिद्वन्द्वी प्यालेस्टिनी समूह हमास र फताहलाई आमन्त्रण गरेको थियो ।

    विश्लेषकहरूका अनुसार चीनले गाजामा जारी युद्धको फाइदा उठाउँदै यस क्षेत्रमा आफ्नो स्थितिलाई मजबुत बनाउन खोजिरहेको छ र कथित अमेरिकी निष्क्रियताविरुद्ध त्यो द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेको छ ।

    वैदेशिक सम्बन्धका लागि युरोपेली परिषद्का क्यामिली लोन्सले एएफपीसँग भन्नुभयो, “बेइजिङले जारी द्वन्द्वलाई अन्तर्राष्ट्रिय परिदृश्यमा पश्चिमाहरूको दोहोरो मापदण्डको आलोचना गर्ने र वैकल्पिक विश्व व्यवस्थाका लागि आह्वान गर्ने सुनौलो अवसरको रूपमा हेरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend