काठमाडौं । काठमाडौँको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।
काठमाडौँ– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले राससलाई बताउनुभयो
नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उहाँले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताउनुभयो । मृतक पुरुष धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र महिला चाँगुनारायण नगरपालिका– ५ की ३२ वर्षीया सविना राईको भएको जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend