logo

२०८३ साउन १३ बुधबार

आइसिसी टि–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो

आइसिसी टि–२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो


हाम्रो राष्ट्र
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हराउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गराएको छ । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशमाथि चार रनको जित हासिल गरेको हो । दक्षिण अफ्रिकाले दिएको एक सय १४ रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेश निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय नौ रनमा समेटियो ।

    बङ्गलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३७ रन बनाएका हुन् । त्यस्तै महमुदउल्लाहले २७ बलमा दुई चौका प्रहार गरी २० रन जोडे । कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा एक छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले तीन विकेट लिए भने कागीसो रबाडा र एनरिक नोर्ट्जेले समान दुई–दुई विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय १३ रनको योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ४४ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ४६ रन जोडे । त्यसैगरी डेविड मिलरले ३८ बलमा २९ रन बनाए । ओपनर क्विन्टन डिककले ११ बलमा १८ रन जोडे । बङ्गलादेशका लागि तान्जिम सकिबले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै रिशाद होस्सेनले एक विकेट लिए ।

    यस जितसँगै समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन खेलमा छ अङ्क बटुलेको छ । पराजित बङ्गलादेशको दुई खेलमा दुई अङ्क नै छ । सोही समूहमा रहेको नेदरल्यान्ड्सको पनि समान दुई खेलमा दुई अङ्क नै छ । नेपाल र श्रीलङ्का अङ्कविहीन छन् । दुवै टोलीले समान एक–एक खेल खेलेका छन् । नेपाल र श्रीलङ्काबीचको खेल भोलि हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend