logo

२०८३ साउन १३ बुधबार

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नति


हाम्रो राष्ट्र
  • बुधबार, १३ असार २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ ।

    गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत बेनी–२ को बगरफाँटबाट दूधेखोला–हल्लेगौडा–डोले–मुसुङ जोड्ने सडक ग्राभेल र ढलान गर्ने योजना कार्यान्वयन गरेको हो । गत जेठ २९ गते रु पाँच करोड ५९ लाखमा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभी कार्यक्षेत्रमा परिचालित भएको पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर रविन चोखालले जानकारी दिनुभयो । यसको लागत रु सात करोड ७२ लाख रहेको छ ।

    आगामी १८ महिनामा बगरफाँटबाट दूधेखोलासम्मको तीन किलोमिटर सडक ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर सडक ढलान गरिने छ । सडक सात मिटर चौडा बनाइने छ । विसं २०६५ मा सडक निर्माण गरिएको हो । उक्त सडक हाल चार मिटर चौडा छ । गण्डकी प्रदेश सरकारद्वारा चालु आवमा रु दुई करोड बजेट विनियोजन गरिएको उक्त सडकलाई बहुवर्षीय ठेक्का लगाउन रु १० करोड बजेटको स्रोत सुनिश्चितता गरिएको सवइन्जिनियर चोखालले बताउनुभयो ।

    विसं २०७६ मा सुरु भएको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडक यस वर्ष निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend