logo

२०८३ साउन १३ बुधबार

‘सङ्घीय गणतन्त्र स्थापनामा स्व कोइरालाको भूमिका महत्वपूर्ण’

‘सङ्घीय गणतन्त्र स्थापनामा स्व कोइरालाको भूमिका महत्वपूर्ण’


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकमा सङ्घीय गणतन्त्र स्थापना हुनुमा पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

    स्व कोइरालाको एक सय औँ जन्मजयन्तीका अवसर आज विराटनगरमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सङ्घीयता स्थापना गर्नमा कोइरालाको ठूलो योगदान रहेको बताउनुभएको हो ।

    नेता निधिले भन्नुभयो, “स्व कोइरालाले लोकतन्त्र स्थापनामा गर्नुभएको योगदानलाई नेपाली जनताले कहिले बिर्सन सक्दैनन् ।” नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति सत्ताका लागि नभई मुलुक र जनताको हितका लागि भएको विचार राख्नुभयो ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एंव कोशी प्रदेशसभा सदस्यद्वय अमृत अर्याल र भिम पराजुलीले राजनीतिक स्थायित्व एवं जनताको जीवनस्तर उकास्न दलहरु मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

    नेपाली कांग्रेस मोरङका सभापति एवं सङ्घीय सांसद  डिगबहादुर लिम्बू र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले स्व कोइरालाको योगदानको चर्चा गर्नुभयो ।

    नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हसन अन्सारी, कविता सरदार तथा नेपाल ट्रेड युनियनका पूर्व केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले प्रजातन्त्र स्थापनाका लागि स्व कोइरालाले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

    नेपाली कांग्रेस मोरङका उपसभापति एंव विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, कांग्रेस मोरङका पदाधिकारी तथा कार्यकर्ताले स्व कोइरालाले सङ्घीयता र विकासका लागि गरेको योगदानको स्मरण गर्नुभएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend