काठमाडौं । डडेल्धुराका एक निर्माण व्यवसायीको निधनप्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्य समेत रहेका डम्बरदेव भट्ट (सन्तोष) को उपचारको क्रममा धनगढीमा असार १५ मा निधन भएको थियो । डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका—५ निवासी भट्टलाई घर नजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारार्थ धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको निधन भएको थियो ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय अन्तर्गतका ठेक्काहरूको भुक्तानी सम्बन्धित् कार्यालयहरूबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थहरूलाई बताएका थिए । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रुपमा विक्षप्त भई ‘आत्मदाह’ गर्न सक्ने खत्तरा देखिएको महासंघको भनाई छ । महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघको भनाइ छ ।
सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन पश्चात् राज्यबाट व्यवसायीहरूको करीब ४० अर्ब रुपैया भन्दा बढी भुक्तानी नभएबाट हजारौं निर्माण व्यवसायीहरू आर्थिक रुपमा ठूलो समस्यामा परेको महासंघले जनाएको छ । अब आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत सरकारले व्यवसायीहरूको उक्त अरबौं रकम भुक्तानी गर्न कुनै तदारुकता नदेखाएमा अन्य व्यवसायीहरूबाट समेत यस्तै दु:खद घटना हुन सक्ने पीडादायी अवस्थाप्रति महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend