logo

२०८३ साउन १३ बुधबार

नारायणीको बाढी बस्तीमा पस्यो

नारायणीको बाढी बस्तीमा पस्यो


हाम्रो राष्ट्र
  • शनिबार, २३ असार २०८१
  • 1.8K
    SHARES

    नवलपुर (नवलपरासी), २२ असारः नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ को बस्तीमा पसेको हो ।

    बाढीका कारण गैँडाकोट–२ बोटेटोलका करिब एक सय घर डुबानमा परेका वडाध्यक्ष प्रकाश सापकोटाले जानकारी दिनुभयो । यहाँका करिब चार सयजना प्रभावित भएपछि सुरक्षित स्थानमा सारिएको सापकोटाले बताउनुभयो । “यहाँ बर्सेनि बाढी पसेर क्षति पुर्याउने गरेको छ”, उहाँले भन्नुभयो, “बाढीबाट प्रभावितहरू छिमेकीको घर तथा सामुदायिक भवनमा बस्नुभएको छ ।”

    बाढी प्रभावितलाई खानाका लागि सामूहिक व्यवस्थापनको तयारी भएको सापकोटाले बताउनुभयो ।

    यसैबीच, नारायणी नदीले खतराको तह पार गरेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार शनिबार साँझ ७ः३३ बजे नदीमा पानीको सतह १० दशमलव ४० मिटर पुगेको छ । नारायणी नदीको देवघाट मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतरा मानिन्छ ।

    नारायणी नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनुभयो । बाढीबाट गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिकामा प्रभाव पार्ने गरेको छ । विशेषगरी गैँडाकोट नगरपालिकाको वडा नं २, ६ तथा मध्यविन्दु नगरपालिकाको वडा नं २, ३ मा बाढीबाट बढी प्रभावित हुने गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend