logo

२०८३ साउन १३ बुधबार

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र

४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र


हाम्रो राष्ट्र
  • बुधबार, २७ असार २०८१
  • 2K
    SHARES

    काठमाडौं । पथलैया–हटौँडा सडकखण्डअन्तर्गत आधाभार क्षेत्रमा दुई किलोमिटर उच्च भारवाहन क्षमताको सडक तयार भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको दुई किलोमिटर सडक कालोपत्र भएर सञ्चालनमा आइसकेको जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै आउने अत्यधिक भारका मालवाहक सवारीसाधनले सडक धसिने समस्याको अन्त्य गर्न पहिलो चरणमा दुई किलोमिटर लम्बाइको नमूना सडक तयार पारेको बताउनुभयो ।

    “पथलैयाबाट हेटौँडा आउने सडकको लेन उच्च भारवाहन क्षमताका मालवाहक सवारीसाधनले सडक धसिने समस्या देखिँदै आइरहेको छ । हामीले पहिलो चरणमा आधाभार क्षेत्रमा दुई किलोमिटर सडक स्तरोन्नति गरेका छौँ”, उहाँले भन्नुभयो, “यो सडक पहिलो चरणमा ‘डिबिएम’ र दोस्रो चरणमा अस्फास्ट कालोपत्र गरेकाले पनि सडक धासिने समस्या आउने छैन ।”

    गत माघ २२ गते सडक डिभिजन हेटौँडा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । यो आयोजनाको लागत रु चार करोड १२ लाख १७ हजार तीन सय ४८ रहेको छ । ठेक्का सम्झौताअनुसार गत जेठ ३० गतेभित्रै निर्माण सम्पन्न हुनुपर्नेमा निर्माण व्यवसायीको ढिलासुस्ती र मौसमका कारणले तोकिएको समयभन्दा केही ढिला गरेर सम्पन्न भएको हो ।

    सूचना अधिकारी पाण्डेले यो प्रविधिबाट सडक कालोपत्र गर्दा लामो समयसम्म टिकाउ हुने दाबी गर्नुभयो । “हामीले परीक्षणका क्रममा भिएस ४० ग्रेडको बिटुमिन प्रयोग गरेर सडक कालोपत्र गरेका छौँ । यो सडक प्रभावकारी भएको खण्डमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना छ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend