काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेलगत्तै दुई पार्टीले दाबी पेस गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष केहीबेर अघि दाबी पेस गर्नुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend