काठमाडौँ, ३० असारः राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति गर्दै हुनुहुन्छ ।
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुनुहुने भएको छ । राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गर्नुभएको थियो ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गर्नुभएको थियो । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै साँझ हुने निश्चित भए पनि शपथ कार्यक्रम भने सोमबार हुने बताइएको छ ।
नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend