logo

२०८३ साउन १३ बुधबार

आठबीसकोटमा पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी जारी

आठबीसकोटमा पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी जारी


हाम्रो राष्ट्र
  • मंगलबार, १ साउन २०८१
  • 1.4K
    SHARES

    रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१२ स्थित सोमबार राती बाढीले बगाएको झिन्चोैर बस्ती । सो स्थानमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । तस्बिर ः बलबहादुर ओली (बलेन्द्र) / रासस

    काठमाडौं । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।

    बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको  आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उहाँ बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि  डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

    बाढीमा परेर घाइते भएका सात जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, छ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको  र  घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend