logo

२०८३ साउन १३ बुधबार

मनसुनजन्य विपद्मा ज्यान गुमाउनेको संख्या एक सय २५ पुग्यो

मनसुनजन्य विपद्मा ज्यान गुमाउनेको संख्या एक सय २५ पुग्यो


हाम्रो राष्ट्र
  • बिहिबार, ३ साउन २०८१
  • 2.1K
    SHARES

    File Photo

    काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।

    विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् ।

    यसैगरी कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।” सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् ।

    दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend