logo

२०८३ साउन १३ बुधबार

कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट

कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुन्छ : प्रमुख सचेतक विष्ट


हाम्रो राष्ट्र
  • शुक्रबार, ११ साउन २०८१
  • 2K
    SHARES

    कर्णाली, ११ साउन : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कांग्रेस अब छिट्टै सरकारमा सहभागी हुने जानकारी दिनुभएको छ । सङ्घमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार बनेपछि कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । माओवादी बाहिरिएसँगै रिक्त रहेका आर्थिक मामिला तथा योजना, जलस्रोत तथा ऊर्जा विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयको नेतृत्व कांग्रेसले गर्नुपर्ने देखिएको प्रमुख सचेतक विष्टले बताउनुभयो ।

    “ कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाही, पार्टीसभापति र उपसभापतिले कर्णाली सरकारमा जाने विषयमा छलफल गरिरहनुभएको छ,” उहाँले भन्नुभयो, “केही प्राविधिक कारणले ढिला भएपनि अब एक/दुई दिनपछि कांग्रेस छिट्टै सरकारमा सहभागी हुन्छ ।” सरकारमा कसको नेतृत्वमा को–को जाने भन्ने विषय पनि केन्द्रीय नेतृत्वको सहकार्य समन्वयमा दलको नेताले टुङ्ग्याउने प्रमुख सचेतक विष्टले बताउनुभयो ।

    मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी आर्थिक मामिला मन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री बीरबहादुर शाही, जलस्रोतमन्त्री रनसिंह परियार र उद्योग, पर्यटनमन्त्री दुर्गबहादुर रावतले समर्थन फिर्ता लिँदै यही साउन ७ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल रिक्त रहेका चारवटै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कँडेलले आफैँले सम्हाल्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend