कीर्तिपुर (काठमाडौँ), ११ साउन : कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा छोरा राहुल नकर्मीले दागबत्ती दिनुभएको हो ।
अन्त्येष्टि अघि नगरप्रमुख नकर्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बर्खाहिटीस्थित नगर कार्यपालिका भवनमा राखिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति धनराज गुरुङ, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, सांसद राजेन्द्रकुमार केसीलगायत पार्टीका स्थानीय नेता तथा कार्यकताले दिवङ्गत नकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । नगरप्रमुख नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।
विसं २०७९ मा भएको स्थानीय तह निर्वाचनबाट नकर्मी कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
नगरप्रमुख नकर्मीको जन्म २०२० असार २० गते कीर्तिपुर–३ मा भएको थियो । उहाँ २०४० सालदेखि नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend