काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगाय क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । आज काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो ।
मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटी, सडक बत्तिको महसुल, बाग्मति लगायतको विषयमा ध्यानाकर्षण समेत गराएको छ । सो क्रममा उपप्रधानमन्त्री सिंहले उपत्यकालाई बस्न लायक बनाउन मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने बताउनुभयो ।
मेयर्स फोरमले वर्षौदेखि स्मार्ट सिटीका लागि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै रोक्का फुकुवा गर्न माग गरेको थियो । उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘स्मार्ट सिटिका लागि जग्गा रोक्का हुँदा जग्गाधनीले उपयोग गर्न पाएका छैनन् भन्ने जुन गुनासो छ । चाँडै नतिजा देखिने गरि मन्त्रालयले काम अघि बढाएको छ ।’
त्यस्तै, मेयर्स फोरमले सडक बत्तिको बील विद्युत प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै सडक केन्द्र र प्रदेश सरकारकै दायित्व भित्र पर्ने भन्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीको बीलको समस्या समाधानका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पुनर्संरचना गर्ने पनि बताउनुभयो । काठमाडौं उपत्यका मेयर्स फोरममा ३ गाउँपालिकासहित १८ वटा स्थानीय तह छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend