काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित मणिडाँडामा परेवाको प्रतीक निर्माण गरिएको छ ।
पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गत आर्थिक वर्षमा रु सात लाखको लागतमा परेवा जोडीको प्रतीक निर्माण गरिएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त स्थानलाई पार्क र पिकनिक स्थलका रूपमा विकास गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनाअनुरूप पूर्वाधार निर्माणका काम भइरहेको पनि उहाँले बताउनुभयो । “यस डाँडामा सहिदको सालिक निर्माण लगायतका भौतिक संरचना निर्माण गर्ने योजना छ । परापूर्वकालमा आर्मीहरूले परेड खेलेकाले परेवाडाँडा नाम राखिएको बूढापाकाको भनाइअनुसार आर्मीहरुले परेड खेल्दै गरेको दृश्यको प्रतीक समेत निर्माण गर्ने लक्ष्य छ । साढे दुई लाख रुपैयाँको लागतमा सहिद मोहनलाल श्रेष्ठको सालिक निर्माण गरिसकेका छौँ”, श्रेष्ठले भन्नुभयो ।
परेवा जोडीको प्रतीक बनपछि हाल यहाँ हेर्न आउनेहरूको सङ्ख्या बढेको बढ्दै गएको छ । तीमध्ये सबैजसोे परेवा जोडीसँग तस्बिर खिँचाउँदै गरेका देखिन्छन् ।
यसैगरी यहाँको मणिडाँडामा रहेको मणि चौताराको मर्मत तथा स्तरोन्नति, नेपालको ठूलो झण्डा राख्ने, आँपका रूखहरुमा म्युजिक सिस्टम जडान गर्ने, पिकनिक स्पोर्टका लागि आवश्यक पर्ने भौतिक संरचना, शौचालय, खानेपानीलगायतको संरचना निर्माण गर्ने स्थानीय पालिकाको योजना छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend