logo

२०८३ साउन १५ शुक्रबार

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको सालिकमा माल्यार्पण

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पूर्वप्रधानमन्त्री भट्टराईको सालिकमा माल्यार्पण


हाम्रो राष्ट्र
  • शनिबार, २७ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको वाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गरेका छन् ।

    शनिबार भट्टराई आश्रम पुगेका पौडेलले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गरे ।

    सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवम् नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गरेका थिए ।

    त्यस्तै उनले आजै कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यान पुगी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गरेका छन् ।

    राष्ट्रपति पौडेललाई त्यहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, काठमाडौँ क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसी, प्रदेशसभा सदस्य पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी, वडाध्यक्ष श्याम केसीलगायतले स्वागत गरेका थिए ।

    माल्यार्पणपछि नवनिर्वाचित राष्ट्रपति पौडेलले प्रतिष्ठानको आगन्तुक कक्षमा रहेको पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए । पुस्तिकामा उनले पुष्पलालको स्मृति उद्यानको अवलोकन गर्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै यसको विकास तथा प्रगतिको कामना गरेका छन् ।

    आगन्तुक कक्षमा नवनिर्वाचित राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच समसामयिक विषयमा कुराकानी भएको थियो । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई अध्यक्ष नेपालले पुष्पलालसम्बन्धी स्मृति ग्रन्थ प्रदान गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend