logo

२०८३ साउन १४ बिहिबार

गृहमन्त्री लेखकद्वारा पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण

गृहमन्त्री लेखकद्वारा पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण


हाम्रो राष्ट्र
  • शुक्रबार, ३२ साउन २०८१
  • 1.4K
    SHARES

    गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको शुक्रबार अनुगमन निरीक्षण गर्दै । छिमेकी राष्ट्र भारतबाट रु १० अर्ब पूर्ण अनुदानमा निर्माणाधीन प्रतिष्ठान निर्माण भइरहेका छन् । तस्बिर ः राजकुमार पराजुली÷रासस

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ मा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आज अनुगमन निरीक्षण गर्नुभएको छ । भारत सरकारको अनुदानमा निर्माणाधीन प्रतिष्ठानको भौतिक संरचना निर्माणको अवस्था अनुगमन गरी उहाँले यसको प्रगतिबारे जानकारी लिनुभएको हो ।

    गृहमन्त्री लेखकलाई रु १० अर्ब ५२ करोडको लागतमा निर्माणाधीन प्रतिष्ठानको संरचना निर्माणबारे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जानकारी गराउनुभयो । यस्तै, लेखकलाई भारतीय निर्माण कम्पनीका प्रतिनिधिले आयोजना निर्माणको प्राविधिक पक्षबारे जानकारी गराएका थिए । लेखकले आयोजनाको अनुगमनका क्रममा गुणस्तरीय तरिकाले निर्धारित समयमा निर्माणको काम सम्पन्न गर्न निर्माण पक्षलाई आग्रह गर्नुभएको छ ।

    गृहमन्त्री लेखकले निर्माणाधीन प्रतिष्ठानको निर्माणका क्रममा केही समस्या आए तत्काल आफूलाई जानकारी गराउनसमेत आग्रह गर्नुभयो । “प्रतिष्ठानको निर्माण कार्य समयमै सक्नुहोला, यसबीचमा केही समस्या आए तत्काल मलाई भन्नुस् समाधान गरिहाल्छौँ”, उहाँले भन्नुभयो । भारतको सहयोगमा उक्त प्रतिष्ठान निर्माण भएकामा लेखकले राजदूतमार्फत भारतीय सरकारसँग खुसी व्यक्त गर्नुभएको छ ।

    अनुगमनका क्रममा राजदूत श्रीवास्तवले निर्माणको काम समयमै सक्नेगरी जनशक्ति परिचालन गरिएको बताउनुभयो । उहाँका अनुसार हाल दैनिक आठ सय जनशक्ति परिचालन गरिएकामा निर्माण कार्य समयमा सक्न थप जनशक्ति थप्ने तयारी गरिएको छ । करिब ८० प्रतिशत भौतिक निर्माणको काम सकिएको उहाँको भनाइ थियो ।

    अनुगमनमा पूर्वसांसद एवं नेपाली कांगे्रसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, पनौतीका नगरप्रमुख रामशरण भण्डारी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी)का निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी, बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रज्वल महर्जनलगायतको सहभागिता थियो ।

    विसं २०७९ असारमा निर्माण सुरु भएको आयोजना भारतीय निर्माण कम्पनीसँग आगामी २०८२ असारमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । करिब आठ सय ६० रोपनी क्षेत्रफलमा निर्माणाधीन प्रतिष्ठानमा प्रशासनिक भवन, शैक्षिक भवन, खेलकुद भवन तथा मैदान, स्विमिङ पुल, अडिटोरियम हल, हेलिप्याडलगायतका एक सय छवटा भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend