logo

२०८३ साउन १३ बुधबार

मुसहर बालबालिकालाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहको आग्रह

मुसहर बालबालिकालाई विद्यालय पठाउन मुख्यमन्त्री सिंहको आग्रह


हाम्रो राष्ट्र
  • बुधबार, १२ भाद्र २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले मङ्गलबार साँझ धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्नुभएको छ ।

    प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह मङ्गलबार वैदेही स्कुल टोलको मुसहर बस्ती पुग्नुभएको थियो ।

    उहाँले मुसहर बस्तीका महिला, बालबालिका, युवा तथा वृद्धसँग त्यहाँका समस्याबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँ बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी लिनुभएको थियो ।

    मुख्यमन्त्री सिंहले सङ्घीयताका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सम्भव भएको उल्लेख गर्दै वर्तमान व्यवस्थालाई संस्थागत गर्ने जिम्मेवारी सबै समुदायको भएको बताउनुभयो ।

    बनिबुतो गरेर जीविकोपार्जन गर्ने मुसहर समुदायका अधिकांश पुरुष रोजगारका लागि भारत जाने गर्छन् भने अधिकांश महिला कृषिसम्बद्ध श्रममा आबद्ध छन् ।

    आयआर्जनका दृष्टिले लत्ताकपडा र छाक टार्न समस्या नरहे पनि यस समुदायका पुरुषमा जाँडरक्सीको लत रहेको महिलाहरुले मुख्यमन्त्री सिंहसँग गुनासो गरेका थिए । मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि समुदाय स्तरबाटै पहल हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    उहाँले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताउनुभयो । उहाँले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गर्नुभएको थियो ।

    “बालकालिकालाई घाँसदाउरा र मेलापात गराउने, बस्तुभाउका हेरालु बनाउने र अन्य घरका कामकाज गराउनेतिर नलाग्नुस्, विद्यालय  पठाउनुस्”, उहाँले भन्नुभयो, “शिक्षामा लगानी भयो भने समुदायको मुहार फेरिन्छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend