logo

२०८३ साउन १३ बुधबार

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह

भारतले धौलीगङ्गा बाँध पुनः खोल्दै, सतर्कता अपनाउन आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, १३ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको हो । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनका अनुसार परियोजनाको बाँध भदौ १५ गते दिउँसो १२ बजेदेखि भदौ १६ गते बेलुकासम्म खोलिने छ ।

    बाँध खोलेका बेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको सतह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

    बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

    दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

    धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिन्छ । परियोजनाले बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । यसअघि भदौ १ गते बिहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म बाँध खोलिएको थियो । विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रकम बराबरको क्षति भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend