logo

२०८३ साउन १४ बिहिबार

विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु

विस्फोटमा घाइते दाजुबहिनीको मृत्यु


हाम्रो राष्ट्र
  • शुक्रबार, १४ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो ।

    शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    विस्फोटमा घाइते स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते स्थानीय दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्केका छन् ।

    घटनास्थलमा अर्को पनि शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गर्न तथा विस्फोटक वस्तु निस्तेज पार्न रणशेर गण फिदिमबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

    शङ्कास्पद वस्तु फालेलुङ–५ डाँडागाउँका आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ । यद्यपि अहिले उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो ती बालबालिका खेल्ने क्रममा विस्फोट भएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको प्रमुख क्षेत्रीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend