logo

२०८३ साउन १५ शुक्रबार

अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज

अगैया–नेपालगञ्ज हुलाकी सडकले आवतजावतमा सहज


हाम्रो राष्ट्र
  • शुक्रबार, २१ भाद्र २०८१
  • 1.7K
    SHARES

    काठमाडौं । अगैया–नेपालगञ्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्र भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो ।

    “हामी पहिले कोहलपुर हुँदै नेपालगञ्ज जानुपर्ने थियो तर अहिले त्यो परिस्थिति बदलिएको छ”, राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मीनकुमार चौधरीले भन्नुभयो ।

    अहिले कृषि उपजका सामग्री किनबेच गर्न बेलैमा नेपालगञ्ज पुग्न सजिलो भएको उहाँले बताउनुभयो । चौधरीले भन्नुभयो, “ग्राभेल सडक हुँदा सवारीसाधन चल्दैनथे तर अहिले पाँच वटा बस सञ्चालनमा छन् ।” राप्तीसोनारी गाउँपालिकाका–३, ४, ५, ६ लगायतका वडाहुँदै हुलाकी सडक नेपालगञ्जबाट अगैया बजारसँग जोडिएको छ । सो सडकका कारण विनौना, धामपुर, चाचरफर्का, गोरधुइया, बैजापुर, नारायणपुर क्षेत्रका साना बजारसमेत चलायमान भएका छन् ।

    वडाध्यक्ष चौधरीले सडकका कारण विकासको मूलप्रवाहीकरण भएकामा खुसी व्यक्त गर्दै वर्षाको समयमा हुने झन्झटको अन्त्य भएको बताउनुभयो । हुलाकी सडक कालोपत्र भएपछि अटो, मोटरसाइकललगायत साना सवारीसाधनको आवतजावत बढेको स्थानीयको भनाइ छ ।

    स्थानीय दिनेश रतगैयाले धुलाम्मे अवस्था सधैँका लागि अन्त्य भएको बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज–अगैया जोड्न थारुमारेमा पक्की पुल निर्माण भएको छ । एउटा नालामा भने पुल निर्माण हुन बाँकी छ ।

    राप्ती नदीमा निर्माणाधीन पुलले अगैया–नेपालगञ्जबाहेक नरैनापुरलाई समेत जोडेको छ । विसं २०७८ मा सुरु भएको उक्त सडक विसं २०८० मा सम्पन्न भएको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले हुलाकी सडकलाई राजमार्गसँग जोडेर कुसुमबाट दाङ जोड्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend