logo

२०८३ साउन १४ बिहिबार

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन

महिलाको अगुवाइमा बन्यो सामुदायिक भवन


हाम्रो राष्ट्र
  • आइतबार, २३ भाद्र २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा रु एक करोडभन्दा बढी खर्चेर सामुदायिक भवन निर्माण भएको छ ।

    दग्नामको नाङ्गीदेवी आमा समूहले गाउँपालिका, प्रदेश सरकार र दाताको सहयोगका साथै नाचगान गरेर जुटाएको रकमबाट दुईतले सभाहलसहितको भवन निर्माण गरेका हुन् । उक्त समूहका अध्यक्ष मीनकुमारी गर्बुजाले सामुदायिक भवन निर्माणपछि भेला, बैठक, तालिम, गोष्ठी, छलफलका लागि व्यक्तिको घर, विद्यालयमा पुग्नुपर्ने समस्या हटेको बताउनुभयो ।

    “गाउँमा दुई–चारजना भेला भएर छलफल गर्न कुनै व्यक्तिको आँगन र पिँढीमा बस्नुपर्दा समस्या भएको थियो”, उहाँले भन्नुभयो, “भवन बनेपछि विवाह, किरिया, छेवारजस्ता संस्कारगत कार्य गर्न पनि सहज भएको छ ।” मगर बाहुल्य दग्नामका करिब एक सय ५० परिवार सो भवनबाट लाभान्वित भएका छन् ।

    भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २० लाख, रघुगङ्गा गाउँपालिकाले रु ४५ लाख, रघुगङ्गा हाइड्रोपावरले रु पाँच लाख, सामाजिक विकास कार्यालयले रु ७५ हजार मूल्य बराबरको फर्निचर सहयोग गरेका छन् । आमा समूहले गाउँमा आउने पाहुनालाई स्वागतका लागि गर्ने नाचगान, चन्दा र आन्तरिक कोषको रु पाँच लाख १५ हजार पनि भवन निर्माणमा परिचालन गरेको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गा गर्बुजाले बताउनुभयो ।

    श्रमदानसहित भवन निर्माणमा रु एक करोडभन्दा बढी खर्च भएको अध्यक्ष गर्बुजाले बताउनुभयो । भवन निर्माणका लागि स्थानीय दुर्गाबहादुर पुनले रु ५० हजारमा एक रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । सामुदायिक भवनलाई विपद् व्यवस्थापनका लागि पनि प्रयोग गर्न सकिने वडाध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

    शनिबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ९खम्बिर०ले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा म्याग्दी १ ९१० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुनलगायत उपस्थित हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend