logo

२०८३ साउन १३ बुधबार

नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा अर्याल नियुक्त

नेपाल टेलिकमका प्रबन्ध निर्देशकमा अर्याल नियुक्त


हाम्रो राष्ट्र
  • सोमबार, २४ भाद्र २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सङ्गीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।

    नेपाल सरकार, मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उहाँलाई चार वर्षको पदावधि रहनेगरी कम्पनीको प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिनुभयो ।

    यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८० साल असोज १७ को निर्णय (मा मन्त्रीस्तर) बमोजिम उहाँले सोही मितिदेखि कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

    नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गतेदेखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नु भई २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिनुभएको थियो । उहाँ २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त हुनुभएको थियो ।

    पदभार ग्रहण गर्नुहुँदै प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पदको गरिमा र आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend