logo

२०८३ साउन १३ बुधबार

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण


हाम्रो राष्ट्र
  • मंगलबार, २५ भाद्र २०८१
  • 1.8K
    SHARES

    काठमाडौं । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिनुभयो ।

    “सुत्केरी भएका तथा गर्भवती भएर १८ महिना पूरा नभएका वडाभित्रका सबैलाई विभिन्न १२ प्रकारका तरकारीका बीउ वितरण गरेका छौँ, हिँउदका बेला तरकारी अभाव हुने र बाहिरबाट ल्याएर खाँदा विषादी प्रयोग गरिएका तरकारी पर्न सक्ने भएकाले घरमै आफैँले उत्पादन गरेको पोषणयुक्त तरकारी प्रयोग गर्न सकियोस् भनेर पनि बीउ वितरण गरिएको हो”, उहाँले भन्नुभयो ।

    स्वास्थ्यचौकीले उनीहरूलाई हरियो सागसब्जी पालुङ्गोलगायत अन्य सागको बीउ, मुला, काउली, बन्दा, गाँजर, धनियाँ, डल्ले खुर्सानीलगायत तरकारीका बीउ उपलब्ध गराएको उहाँले बताउनुभयो । धावामा ६४ गर्भवती तथा सुत्केरीलाई षोषणयुक्त तरकारीको बीउ वितरण गरिएको हो । तीमध्ये ११ गर्भवती र ५३ सुत्केरी आमा छन् ।

    “हरियो सागपात र गाँजरले सुत्केरी, शिशु तथा गर्भवतीलाई भिटामिन ‘ए’को कमी हुन दिँदैन, त्यसबाहेक वितरण गरिएका अन्य तरकारीका बीउ पनि उत्तिकै लाभदायक छन्, स्वास्थ्यचौकी प्रमुख लामिछानेले भन्नुभयो, “आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन गाउँपालिकामार्फत नै कार्यक्रम बनाएर तरकारीको बीउ वितरण गरिएको हो ।”

    विषादी प्रयोग गरिएका तरकारीको खाँदा आमा र शिशु दुवैलाई बढी असर गर्ने भएकाले गाउँमा आफैँले उत्पादन गर्नसके विषादीको जोखिम नहुने उहाँको भनाइ छ । “हरियो तरकारी सागसब्जी र पहेँला फलफूलका साथै मौसमअनुसारको तरकारी उपभोग गर्दा आमा र बच्चालाई कुपोषण हुनबाट जोगाउन सकिने भएकाले पनि मौसमअनुसारको तरकारीको बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

    तरकारीको बीउ लगाएको वा नलगाएको स्वास्थ्यचौकीले आवश्यक अनुगमन गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । “वितरण गरिएका तरकारीको राम्रोसँग खेती गरेर उत्पादन गरे कुनै पनि गर्भवती तथा सुत्केरीलाई हिउँदमा तरकारीको अभाव हुँदैन”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend