logo

२०८३ साउन १५ शुक्रबार

युवा पुस्ताले कृषि क्षेत्रमा अवसर खोज्नुपर्छ : मन्त्री शाह

युवा पुस्ताले कृषि क्षेत्रमा अवसर खोज्नुपर्छ : मन्त्री शाह


हाम्रो राष्ट्र
  • शुक्रबार, २८ भाद्र २०८१
  • 6.1K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षित हुन र यसलाई सम्मानको दृष्टिले लिन आह्वान गर्नुभएको छ। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नवीनतम सोचसहितको कृषि उपज प्रदर्शनीमा बोल्दै मन्त्री शाहले कृषि पेशालाई हिनताबोधको विषय होइन, गर्व गर्न योग्य पेशा मान्नुपर्नेमा जोड दिनुभयो।

    मन्त्री शाहले आफ्नो सपना साझा गर्दै भन्नुभयो, ‘मेरो ठूलो सपना थियो कि, रिटायर भएपछि कृषक भएर जीवन अगाडि बढाउँछु। यहाँ तपाईंहरूलाई देख्दा म अत्यन्त उत्साहित छु ।’ उहाँले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको र यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने सम्भावना रहेको उल्लेख गर्दै युवाहरूलाई कृषि क्षेत्रमै योगदान दिन आह्वान गर्नुभयो।

    प्रदर्शनी कार्यक्रममा मन्त्री शाहले कृषकहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधाको सही सदुपयोग गर्न सुझाव दिनुका साथै सरकारी अनुदान पहुँचवाला नक्कली कृषकहरूले लिनुका सट्टा वास्तविक कृषकसम्म पुग्नुपर्नेमा जोड दिनुभयो। उहाँले राज्यले कृषि क्षेत्रलाई उपेक्षित राखेकाले यसको समुचित विकास हुन नसकेको पनि स्विकार गर्नुभयो।

    मन्त्री शाहको प्रमुख आतिथ्यतामा युथ इनोभेसन ल्याबको आयोजनामा सञ्चालन गरिएको थियो । प्रदर्शनीमा विभिन्न स्थानीय पालिकाहरूको समन्वयमा कृषि उत्पादक, आपूर्तिकर्ता, नवप्रवर्तनकर्ताहरूले आफ्ना उत्पादनहरू प्रदर्शनीमा राखेका छन् ।

    मन्त्री शाहले प्रदर्शनीलाई आधुनिक कृषि प्रविधिबारे जानकारी दिने महत्त्वपूर्ण अवसरका रूपमा लिंदै, कर्णाली प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउन सकिने सम्भावना रहेको बताउनुभयो । कार्यक्रममा सरकारी र गैरसरकारी संघसंस्था, विकास साझेदार, वित्तीय संस्था, र विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend