logo

२०८३ साउन १५ शुक्रबार

‘कृषिका कुरा गर्नेहरु कहिल्यै किसान बन्न सकेनन्’

‘कृषिका कुरा गर्नेहरु कहिल्यै किसान बन्न सकेनन्’


हाम्रो राष्ट्र
  • सोमबार, ३१ भाद्र २०८१
  • 5.9K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले कृषिका कुरा गर्नेहरु वास्तविक किसान कहिल्यै बन्न नसकेको बताउनुभएको छ ।

    बिपी चिन्तन प्रतिष्ठान कर्णाली प्रदेशद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित ‘नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा योजनामन्त्री शाहले कृषि प्रधान देशमा कृषि पेसालाई हेला गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ जसले कृषि उत्पादन र उत्पादकत्व बढाउनुपर्छ भनेर ठूला कुरा गर्छन् । त्यसले नै बढी आयातीत वस्तु खाइरहेको छ र आफ्नो उत्पादनमा कुनै ध्यान दिएको छैन ।”

    खाद्यान्नमा निर्भर राज्यले कृषिमा धेरै लगानी गर्नुपर्ने बताउँदै उहाँले गलत गर्नेहरु राजनीतिमा हाबी हुँदा पछिल्लो समय राजनीति विशुद्ध सेवाभन्दा पनि पेसा व्यापार जस्तो भएको टिप्पणी गर्नुभयो । कर्णाली अर्गानिक कृषि उत्पादनका हिसाबले सम्भाव्य प्रदेश भएको बताउँदै  उहाँले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    कर्णाली प्रदेशसभा सदस्य खड्बहादुर पोखरेलले कृषि क्षेत्रमा अनुदान प्राप्त गर्ने व्यक्तिबारे थाहा हुन नसकेको बताउनुभयो । अरूको फार्म देखाएर अनुदान खाने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै उहाँले वास्तविक किसानको मनोबल बढ्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    बिपी चिन्तन प्रतिष्ठानका सहअध्यक्ष पुष्पराज पराजुली कृषि अभियान नेपालको अनिवार्य आवश्यकता भएको बताउनुभयो । “किसानको आर्थिक उन्नति भएमात्र समाजवादको लक्ष्य पुरा हुन्छ,” उहाँले भन्नुभयो, “मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन सबै दलले गफ होइन, काम गर्नुपर्दछ ।” मुलुकमा राजनीतिक क्रान्ति सफल भए पनि कृषि तथा आर्थिक क्रान्ति आगामी कार्यदिशा हुनुपर्ने उहाँको भनाइ थियो ।

    कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टीकाराम थापाले किसान र कृषि पेसालाई सम्मान नगरिएसम्म मुलुक परनिर्भर हुने धारणा राख्नुभयो । “राज्यले नै युवालाई विदेश पठाउन प्रोत्साहन हुने गरी वैदेशिक रोजगार विभाग खडा गरेको छ,” उहाँले भन्नुभयो, “अनि कसरी युवाहरु नेपालमा बस्छन् । स्वदेशी रोजगार विभाग खोलेर मुलुकमै रोजागरको व्यवस्था गर्नुपर्दैन र ?”

    मन्त्रीले आफ्नो पद जोगाउन योजना छनोट गर्ने संस्कृतिले कृषि तथा अर्थतन्त्रको विकास र आत्मनिर्भरता कायम हुन नसक्ने उहाँको भनाइ थियो । उक्त विचार गोष्ठीमा नेपाली कांग्रेस प्रदेश समितिका महामन्त्री निरञ्जन केसी, जिल्ला उपसभापति विष्णु खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रतिनिधि गङ्गाराम तिमिल्सिना, आइडिया नेपालका खगेन्द्र चाम्लिङ राईलगायतले आफ्ना धारणा व्यक्त गर्नुभयो । सोही क्रममा नेपालको कृषि क्रान्ति, सम्भावना, चुनौती र भावी कार्यदिशाका बारेमा चारवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend