logo

२०८३ साउन १४ बिहिबार

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल


हाम्रो राष्ट्र
  • शुक्रबार, ४ असोज २०८१
  • 2.1K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउने बेला आएको छ भन्नुभयो ।

    अध्यक्ष दाहालले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण ‘एजेण्डा’ हुनसक्ने बताउनुभयो । “हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “तर अब बदलिएको राजनीतिक अवस्था र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ ।”

    नेपाललाई शान्ति क्षेत्र घोषणाका बारेमा पार्टीभित्र पनि छलफलको तयारी भइरहेको जनाउँदै अध्यक्ष दाहालले भन्नुभयो, “यसमा खुला छलफल गर्ने पक्षमा छु, पार्टीबाट नै यस विषयमा स्पष्ट दृष्टिकोण बनाएर जाने छौँ ।”

    आफूहरु केन्द्रीय समिति बैठकको तयारीमा रहेकाले उस्तै परे यही बैठकबाट पनि एउटा प्रस्तावको रुपमा यसलाई लैजान सकिने पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष दाहालले विश्व शान्तिको केन्द्र लुम्बिनीलाई प्रमुख आधार बनाएर यो क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा अघि सार्न आवश्यक हुने उल्लेख गर्दै यसमा जनस्तरबाट बहस थालिनु सकारात्मक भएको बताउनुभयो ।

    उहाँले आफ्नो पार्टीको तर्फबाट यो अभियानलाई सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । दाङका वरिष्ठ पत्रकार नारायणप्रसाद शर्मा अभियानको अध्यक्ष रहनुभएको छ । अभियानका तर्फबाट बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापनपत्र बुझाउँदै संयुक्त राष्ट्रसंघको महासभामा आवाज उठाउन आग्रह गरेको उपाध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिनुभयो । दाङबाट सुरु भएको सो अभियानले दाङ, लुम्बिनी र काठमाडौँमा विभिन्न समयमा विचार गोष्ठी आयोजना गरिसकेको जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend