logo

२०८३ साउन १३ बुधबार

सुस्ता झोलुङ्गे पुलले स्थानीय जनताको दैनिक जीवन सहज बनाउँछ : मन्त्री सिंह

सुस्ता झोलुङ्गे पुलले स्थानीय जनताको दैनिक जीवन सहज बनाउँछ : मन्त्री सिंह


हाम्रो राष्ट्र
  • बिहिबार, १० असोज २०८१
  • 3.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सुस्तामा निर्माण भएको झोलुङ्गे पुलले सर्वसाधारणको दैनिक गतिविधिमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभएको छ ।

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन वृज डिभिजनद्वारा निर्मित त्रिवेणी महेशपुर (सुस्ता) मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन समारोहमा उहाँले सुस्ता झोलुङ्गे पुलले सर्वसाधारणको दैनिक जीवन सहज बनाउने बताउनुभयो ।

    नदी तरितराउको अभावमा वर्षौंदेखि सुस्ता गाउँका नागरिकले आफ्नो दैनिक जीवन सञ्चालनका लागि डुङ्गाका भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भई सहज हुने मन्त्री सिंहले बताउनुभयो ।

    “झोलुङ्गे पुलको अभावमा राज्यले प्रदान गर्ने सेवासुविधा लिन जोखिमपूर्ण यात्रा गर्नुपर्ने, लामो समय लाग्ने, निम्न माध्यमिक तहभन्दा माथिल्लो शिक्षाका लागि नारायणी नदीको दायाँ किनारातर्फ वा सदरमुकाम तर्फका अन्य स्थानमा डेरागरी बस्नुपर्ने बाध्यता रहेकामा यस झोलुङ्गे पुलको निर्माणले त्यस्ता समस्याको समाधान गरेको छ”, उहाँले भन्नुभयो, “त्यसैगरी, स्वास्थ्य सुविधाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । सुस्ताक्षेत्रमा उत्पादन हुने उखु, केरा तथा अन्य कृषिउपजले सहज बजार पाउने अवस्थाको सिर्जना भएको छ भने अन्य क्षेत्रबाट ल्याउनुपर्ने कृषि तथा अन्य सामग्री ओसारपसारमा सहज हुने अवस्थाको सिर्जना भएको छ ।”

    त्यसैगरी, नेपालकै सबैभन्दा लामो र आकर्षक झोलुङ्गे पुल हेर्न नेपाल र छिमेकी मित्रराष्ट्रबाट पर्यटक आउने सम्भावना रहेकाले यस क्षेत्रको पर्यटकीय विकासको सम्भावनासमेत उहाँको भनाइ छ ।

    “यस क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुग्ने आशा गर्न सकिन्छ, सुस्ता गाउँपालिका–५ को नारायणी नदीपारी रहेको विकट र राज्यको सेवासुविधाबाट पृथक रहेको सुस्ता गाउँलाई राज्यको सेवा, सुविधामा पहुँच पुर्‍याइएको छ”, मन्त्री सिंहले भन्नुभयो, “यस कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने यस गौरवको झोलुङ्गे पुल आयोजना निर्माण सम्पन्न गरेकामा सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग, सस्पेन्सन बृज डिभिजन तथा यस झोलुङ्गे पुलका निर्माण व्यवसायी श्री त्रिशूली/आश्रय जेभीलाई म हार्दिक बधाई दिन चाहन्छु ।”

    बर्दघाट सुस्ता (नवलपरासी पश्चिम) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ज्यानै जोखिममा पारेर ढुङ्गाका भरमा नदी वारपार गर्ने बासिन्दाका लागि सुस्ता झलुङ्गे पुलले उनीहरूको जीवनका सहजता ल्याउने बताउनुभयो । उहाँले सुस्तावासीलाई विद्युतीय सुविधा उपलब्ध गराउन यस क्षेत्रमा राष्ट्रिय प्रसारण जडान भएको जानकारी दिनुभयो ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले यस झलुङ्गे पुलले आगामन सहजताका लागि सहयोग पुग्ने बताउनुभयो । यो भौतिक पूर्वाधारको परियोजना मात्रै नभएर नयाँ विकासको ढोका खोलेको उहाँको भनाइ छ । भौगोलिक विकटताका क्षेत्रमा गुणस्तरीय विद्युत् पुगेसँगै उद्योगधन्दा सञ्चालनका लागि विद्युत्ले सहयोग गरेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले झोलुङ्गे पुल नहुँदा यहाँका जनताले सास्ती बढी खेप्नुपरेको भन्दै अब सुस्ता झोलुङ्गे पुल निर्माणले जनजीवन सहज बनाउने बताउनुभयो ।

    सांसद विनोद चौधरीले जनताले निरन्तर रुपमा पुल निर्माणका लागि लागिपर्नुभएको भन्दै पुलले सुस्ता क्षेत्रको अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउनुभयो । “पुल निर्माण भएसँगै आर्थिक विकासको ढोका खुलेको छ”, चौधरीले भन्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend