काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानमा प्रभाव परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा यो असर परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिक उडानमा जनकपुर, भैरहवा, नेपालगञ्ज, र धनगढी विमानस्थलमा मात्र उडान भइरहेका छन् । भद्रपुर, सिमरा, भरतपुर, पोखरा, र सुर्खेत विमानस्थलमा आज कुनै उडान नभएको छ, जबकि विराटनगरतर्फ दिउँसो ३ बजेदेखि नियमित उडान हुने जानकारी छ ।
अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ । दुई विमान करिब एक घण्टा ‘होल्ड’मा परेका छन् । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइरहेको इण्डिको एयरलाइन्सको विमान र थाइल्याण्डको बैंककबाट आएको थाई एयर होल्डमा परेका छन्। अन्य अन्तर्राष्ट्रिय उडानहरूमा पनि केही ढिलाइ भएको छ, तर सामान्यतया अन्तर्राष्ट्रिय उडान नियमित भइरहेका छन् ।
लगातारको वर्षाले भिजिबिलिटी कमजोर बनाएको कारणले हवाई उडान प्रभावित भएको छ । काठमाडौँ विमानस्थलमा ‘इन्ट्रमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) उडान मात्र भइरहेको छ। मौसम बिग्रिएकाले आजका लागि कुनै पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, देशभर मनसुनी वायुको प्रभाव छ र भारतको उत्तरमध्य महाराष्ट्र तथा आसपासको क्षेत्रको न्यून चापीय प्रणालीका कारण मौसममा बदली र वर्षा भइरहेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend