logo

२०८३ साउन १४ बिहिबार

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक : मुख्यमन्त्री कार्की

स्वास्थ्य सेवामा स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक : मुख्यमन्त्री कार्की


हाम्रो राष्ट्र
  • आइतबार, २० असोज २०८१
  • 1.5K
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानव जीवनसँग प्रत्यक्ष जोडिएको  स्वास्थ्य सेवामा स्वास्यकर्मीहरु संवेदनशील  हुन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

    प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको तीन दिने प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठीको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्यकर्मीहरुले जनशक्तिको कमी, सीमित साधन स्रोतका वावजुत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु भएकोमा प्रशंसा व्यक्त्त गर्नुभयो ।

    स्वास्थ्य मन्त्रालय समेत सम्हालनुभएका मुख्यमन्त्री कार्कीले प्रदेशका स्वास्थ्य क्षेत्रमा आवश्यक साधन स्रोतको पूर्तिका लागि नीतिगत रुपमा बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले प्रदेश सरकारले जनशक्ति, बजेटको कमी, साधनस्रोतको अभाव, क्षेत्रअधिकारका  कारण सोचअनुसार स्वास्थ्य क्षेत्रमा कार्य गर्न नसकेको गुनासो समेत व्यक्त्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य सेवा क्षेत्रमा प्रतिस्पर्धामा सङ्घभन्दा उत्कृष्ट बनाउन स्वास्थ्यकर्मीहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।

    मुख्यमन्त्री कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन डा महेन्द्र श्रेष्ठको अध्यक्षतामा एक कार्यदल गठन गरेको जानकारी दिँदै यसले दिएको सुझाव कार्यान्वयनले जनताले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास जनाउनु भयो ।

    स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुको सरुवा, बढुवा र वृत्ति विकासलाई कार्यविधि बनाउन मापदण्डअनुसार कानुनद्वारा निर्देशित गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भयो ।

    स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेत, जनस्वास्थ्य प्रशासक योगराज घिमिरेले गोष्ठीबाट प्राप्त सुझावले आगामी दिन प्रदेशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदानमा सहयोग पुग्ने विचार राख्नुभयो ।

    गोष्ठीमा प्रदेशका १४ जिल्लाका मन्त्रालयअन्तर्गतका अस्पताल, निजी अस्पताल, शिक्षण अस्पताल, आयुर्वेद कार्यालयको सहभागिता छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend