वालिङ (स्याङ्जा), २३ असोज : एक सय ५०औँ विश्व हुलाक दिवसका अवसरमा आज स्याङ्जामा दुई सञ्चारकर्मीसहित आठ जना सम्मानित हुनुभएको छ ।
स्याङ्जा सदरमुकाममा आयोजित एक कार्यक्रमकाबीच सूचना तथा सञ्चार क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत् दुई सञ्चारकर्मीसहित छ जना उत्कृष्ट हुलाकका कर्मचारीलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालय स्याङ्जाका कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
स्याङ्जाको पहिलो रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तथा राष्ट्रिय समाचार समितिका वालिङ सम्वाददाता तोलाकान्त बगाले, गोरखापत्र राष्ट्रिय दैनिक वालिङका संवाददाता राधाकृष्ण डुम्रे सम्मानपत्र तथा दोसल्लासहित सम्मानित हुनुभएको हो ।
जिल्लास्थित विभिन्न स्थानीय तहका हुलाकमा उत्कृष्ट कार्य सम्पादन तथा लामो समयदेखि सेवामा खटिनुभएका खरिदार, हल्कारा र पत्र वितरकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको उहाँले बताउनुभयो ।
लामो अवधि सेवामा खटिनुभएका तथा उत्कृष्ट कर्मचारीको रुपमा खरिदार गीता पाण्डे, हल्कारा सूर्यप्रसाद अर्याल, प्रभाकर शर्मा, देवाखर न्यौपाने, पत्र वितरक डेलप्रसाद गुरुङ तथा केवल सञ्चालक लालप्रसाद श्रेष्ठ सम्मानित हुनुभएको हो । सम्मानित सञ्चारकर्मी तथा कर्मचारीलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले सम्मान गर्नुभएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend