जाजरकोट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटको समुन्नत विकासका लागि सबै कर्मचारीले आफ्नो जिम्मेवारी र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले जाजरकोटमा आयोजित “प्रदेश विशेष कार्यक्रम तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै विकासका लागि बजेट मात्र विनियोजन गरेर नपुग्ने, त्यसको प्रभावकारी कार्यान्वयनमा पनि सबैले उत्साहपूर्वक लाग्नुपर्ने कुरा उल्लेख गर्नुभयो। उहाँले सबै तहका कर्मचारीहरूले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गरेमा जाजरकोटको समुन्नति धेरै समय नलाग्ने बताउनुभयो।
मन्त्री शाहले गत वर्षको भूकम्पले पुर्याएको क्षति र पुनर्निर्माण कार्य स्मरण गराउँदै, प्रदेश सरकारले तत्कालका लागि २५ करोड रुपैयाँ राहतस्वरूप विनियोजन गरिसकेको जानकारी दिनुभयो। पुनर्निर्माण र विकासका कार्यमा कर्मचारी, जनप्रतिनिधि, र स्थानीय जनताबीच समन्वय र सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलको प्रमुख अध्यक्षता रहेको थियो भने कर्णाली प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्री लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। जाजरकोट जिल्लाका सातवटै पालिका प्रमुख तथा उपप्रमुख, संघीय, प्रादेशिक, र स्थानीय कार्यालयका प्रमुख/प्रतिनिधिहरू, साथै सुरक्षा निकायका प्रमुख/प्रतिनिधिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा पालिकाहरूका विगत, वर्तमान, र भविष्यका योजना, समस्या, र समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
प्रत्येक पालिकाका प्रमुख वा उपप्रमुखले आफ्नो पालिकामा विद्यमान आयोजना, बजेट विनियोजन, नीतिगत कार्यान्वयन, र राजस्व संकलन सम्बन्धी विभिन्न विषयमा प्रस्तुति दिएका थिए।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend