logo

२०८३ साउन १४ बिहिबार

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै

शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै


हाम्रो राष्ट्र
  • मंगलबार, १८ मंसिर २०८१
  • 1.6K
    SHARES

    भोजपुर: यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवनको शिलान्यास गरिएको हो ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

    भवन निर्माणका लागि कोशी प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय पालिकाबाट रु १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । यो भवनबाट जिल्लाको शैक्षिक अवस्था तथा नवीनतम विषयवस्तुको खोज तथा अनुसन्धान गरिने अध्यक्ष रेग्मीको भनाइ छ ।

    “शैक्षिक क्षेत्रको विकास तथा खोज अनुसन्धान गर्ने लक्ष्यले शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरेका छौँ”, अध्यक्ष रेग्मीले भन्नुभयो, “भवन निर्माणका लागि प्रदेश सरकारसँगै स्थानीय पालिकाहरुको बजेटमा निर्माण थालेका छौँ, शिक्षहरुबाट पनि स्वतःस्फूर्त रुपमा रकम सङ्कलन गरिरहेका छौँ ।”

    अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणका लागि पौवादुङमा गाउँपालिकाबाट रु तीन लाख, टेम्केमैयुङ गाउँपालिकाबाट रु दुई लाख ५० हजार, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाबाट रु दुई÷दुई लाख, हतुवागढी, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाट रु एक÷एक लाख गरी पालिकाहरुबाट रु १४ लाख ५० हजार बजेट विनियोजन भएको जनाइएको छ । सङ्गठनको नाममा रहेको तीन रोपनी एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण थालिएको सङ्गठनका सचिव विष्णुकुमार राईले बताउनुभयो ।

    भवनको शिलान्यास गर्दै पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अनुसन्धान केन्द्र शिक्षक भवनले यहाँको शैक्षिक विकास तथा खोज अनुसन्धानमा सहयोग पुग्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुको खस्किँदो शैक्षिक अवस्थाको सुधारसँगै भोजपुरबाट उत्पादित जनशक्तिलाई सक्षम र सफल बनाउन भवनको प्रयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएका योजनाहरुलाई समयमा सम्पन्न गराउन आवश्यक पहलकदमी गरिरहेको राज्यमन्त्री राईले जानकारी दिनुभयो । पौवादुङमका अध्यक्ष किरण राईले शैक्षिक अनुसन्धान केन्द्र निर्माणका लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको बताउनुभयो । भवन निर्माणले शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धानमा टेवा पुग्ने राख्नुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend