भक्तपुर: नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा मंगलबारदेखि नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगिता शुरु भएको छ। सूर्य विनायक नगरपालिकाका मेयर बासुदेव थापाले उदघाटन गरि आरम्भ गरेको राष्ट्रिय बी प्रतियोगितामा ४० जना पुरुष र २० जना शीर्ष महिला खेलाडीले सहभागीता जनाएका छन् ।
मेयर बासुदेव थापाले उदघाटन समारोहको अबसरमा भक्तपुर जिल्लाले बुद्धिचाल खेलको बिकास र उन्नतिमा विशेष पहल गर्दै आइरहेका कारण चेस खेलमा सूर्य विनायक नगरपालिकाले लगानी गर्ने वातावरण बनेको धारणा ब्यक्त गरेका छन्।
नेशनल बी चेस प्रतिस्पर्धा मार्फत छनौट हुने ९ जना पुरुष र ९ जना महिला खेलाडीले नेपाल च्याम्पियनका शिर्ष तीन जना खेलाडी संग राष्ट्रिय च्याम्पियनका लागि खेल्ने छन्। २५ औं राष्ट्रिय र १० औं महिला राष्ट्रिय च्याम्पियन आगामी माघको दोश्रो साता हुनेछ।
आज महिला तर्फ पहिलो चरणको खेलमा ओलम्पियाड खेलाडी शान्ति धिमालले अप्रत्याशित हार व्यहोर्न पुगेकी छिन्। झापाकी पुनम प्रसाईं संग पराजित धनुषाकी धिमाल डिफेन्स गर्न चुकेपछि १ अंक गुमाउन पुगेकी छिन्।
झापाकी पुनम प्रसाईं सँगै किर्तिपुरका बिनिता कपालि, पर्साका शुशीला गुरुङ, चितवनकी लक्ष्मी कँडेल, ईषा गिरि, नयुमा मगर र निहाना श्रेष्ठले १ – १ अंक जोडेका छन्।
बाचामारी स्थित होटल सिटि गाउँमा सम्पन्न पुरुष तर्फको चेस स्पर्धामा मकवानपुरका पुरुषोत्तम सिलवाल, काठमाडौंका एफएम रिजेन्द्र राजभण्डारी, दोलखाका आशिष् फूँयाल, बनेपाका राहुल चौ प्रधान, सुसन आचार्य, धिरेन राई, ललितपुरका सानुराज बज्राचार्य, रौतहटका एफएम रुपेश जैसबाल, झापाका प्रकाशचन्द्र नेपाल, हेटौंडाका सिएम मिलन लामा आफ्ना खेल जितेर शुरुआति अंक जोडेका छन्।
यसैगरी भक्तपुरका निकेन कुसाथा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन, भक्तपुरका राजेश कक्षपति, ललितपुरका सानुभाई महर्जन, विनय थापा र प्रसित खनालले जित दर्ता गर्दै संयुक्त अग्रस्थानमा उभिन सफल भएका छन्।
बुद्धिचाल विधा अन्तर्गत १ घण्टा ३० मिनेटको क्लासिकल बौद्धिक खेल पाँच दिन जम्मा ९ चरणको हुनेछ। नेशनल बी खेल पूर्व प्रा. रामकृष्ण , श्यामकृष्ण महर्जन, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, पूर्व खेलकुद अध्यक्ष दिपक थापा, महासंघका सहसचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट , सदस्य बालाराम पुन, रमिला पोखरेल, निरञ्जन प्रजापति, राजु ताम्राकार लगायतका अतिथिको उपस्थिति रहेको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend