logo

२०८३ साउन १५ शुक्रबार

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू

दूधमती नदीको संरक्षण र सौन्दर्यकरणका लागि सीमाङ्कन सुरू


हाम्रो राष्ट्र
  • सोमबार, १५ पुष २०८१
  • 1.1K
    SHARES

    महेन्द्रनगर (धनुषा): धनुषा र महोत्तरी जिल्ला जोड्ने दूधमती नदीको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले सीमाङ्कनको काम सुरू गरिएको छ ।

    आजदेखि विधिवत् रूपमा कार्यक्रम आयोजना गरी दूधमती नदीको उद्गमस्थल क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेको अरजनवाँ गाउँबाट सीमाङ्कनको काम सुरू गरिएको हो ।

    नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झालगायत जनप्रतिनिधिहरूले संयुक्त रूपमा नेपालको झण्डोत्तोलन गरेर सीमाङ्कनको शुभारम्भ गर्नुभयो ।

    धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमिटरको दूरीमा रहेको दूधमती नदीको सीमाङ्कनको प्रारम्भिक चरणमा नक्साअनुसार नापजाँच गरेर क्षेत्रफल निकाल्ने र पिलर गाड्नेसहित जग्गा छुट्याउने गरी पैनी खन्ने काम आजैदेखि सुरू गरिएको छ ।

    दूधमती नदी संरक्षण तथा संवर्द्धन उच्चस्तरीय उपसमितिद्वारा सञ्चालित दूधमती नदी उक्सा तथा विकास परियोजनाअन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खनन गरी नदीको सौन्दर्यीकरण गरिनेछ ।

    सो अवसरमा कांग्रेस सहमहामन्त्री यादवले दूधमती नदी पर्यटकीय क्षेत्रमा रूपमा विकास भए क्षीरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताउनुभयो । उहाँले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गणतव्यका रूपमा स्थापित हुने समेत बताउनुभयो ।

    उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको अहिलसम्मकै प्रदेश सरकारको ठूलो गौरवको आयोजना रहेको यो दूधमती नदीलाई करिडोरका रूपमा स्थापना गरिने भएकाले यसमा स्थानीय जनताको आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

    परियोजनाबारे जानकारी गराउँदै मन्त्री यादवका अनुसार करिब पाँच अर्बको बहुवर्षीय परियोजनाअन्तर्गत रहेको यस योजनाअन्तर्गत दूधमतीको बहाव क्षेत्रबाहेक दुवैतर्फ ११/११ मिटर कालोपत्र सडक, उद्गमस्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ/गाउँ नजिक दूधमती र सीता माताको मन्दिरसहित पार्क, प्रत्येक दुई/दुई किलोमिटरको दूरीमा ड्यामको व्यवस्था गरिनेछ ।

    कार्यक्रममा स्थानीय तहका तर्फबाट क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले परियोजना सुरू भएपछि नगरपालिकाबाट रू २५ लाख र लक्ष्मिनिया गाउँपालिकाका प्रतिनिधिले रू ११ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१/८२ मा रू दुई करोड ५० लाख रूपैया बजेट छुटयाएको छ । आगामी वर्षदेखि डिपिआरअनुसार बढीभन्दा बढी बजेट छुट्याउने मन्त्री यादवले बताउनुभयो ।

    मन्त्रालयका सचिव अन्सारीका अनुसार नापजाँचका लागि नापी शाखा धनुषाका अमिन रामकृपाल अधिकारीको नेतृत्वमा चार सदस्यीय टोली खटाइएको छ । धनुषा र महोत्तरी नापी शाखालाई नापजाँचका लागि तीन महिनाको समयावधि दिइएको छ । नापजाँच सकिएपछि उत्खननको काम अघि बढाइनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend