रुकुम पश्चिम: रुकुम पश्चिम जिल्लामा विकास निर्माण, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले जिल्लाका प्रमुख कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य जीवन बहादुर शाही, कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह, राष्ट्रिय सभा सदस्य कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाको विशेष उपस्थिति रहेको थियो।
पूर्व मुख्यमन्त्री शाहीले विकासका लागि योजनाबद्ध दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै क्रमिक र बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले रुकुम पश्चिम कर्णाली प्रदेशको बहुआयामिक जिल्ला भएकोले सबै पक्षले सकारात्मक सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।
कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शाहले सरकारको प्राथमिकता जनसेवा भएको उल्लेख गर्दै कर्मचारी र जनप्रतिनिधिबीच समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले सबैले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो।
राष्ट्रिय सभा सदस्य रोकायले सबैले आफ्नो मातहतका कामकारबाहीमा कर्तव्यनिष्ठ भएर काम गर्नुपर्नेमा जोड दिनुभयो भने, कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री बुढाले जिल्लाको विकासमा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend