सल्यान: सल्यान जिल्लामा विपद् व्यवस्थापन समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रममा पूर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य माननीय जीवन बहादुर शाहीको प्रमुख आतिथ्यता साथै कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहको विशेष आतिथ्यता रहेको यस अन्तरक्रियामा राष्ट्रिय सभा सदस्य माननीय कृष्ण बहादुर रोकाय र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाको समेत उपस्थिति रह्यो ।
बैठकको अध्यक्षता सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका सम्पूर्ण पालिका प्रमुखहरू, कार्यालय प्रमुखहरू र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा जिल्लाको विकास निर्माण र विपद् व्यवस्थापनका मुख्य विषयमा व्यापक छलफल गरियो ।
कार्यक्रममा जिल्लाको समृद्धिका लागि ठोस योजना निर्माण, स्रोत साधन परिचालन, र विपद् व्यवस्थापनमा स्थानीय तहदेखि प्रदेश स्तरसम्मको समन्वयलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिइयो ।
उक्त बैठकले जिल्लामा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपद्हरूको रोकथाम र व्यवस्थापनका लागि दीर्घकालीन रणनीति बनाउने निष्कर्ष निकालेको छ। साथै, विकास निर्माणका कार्यहरू प्रभावकारी बनाउन नागरिक सहभागिता सुनिश्चित गर्दै, जिल्लाका हरेक समुदायसम्म पहुँच पुर्याउनुपर्ने विषयमा सरोकारवालाहरू सहमत भए ।
यस बैठकले सल्यान जिल्लालाई थप समृद्ध र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण मार्गचित्र निर्माण गरेको आयोजकहरूको विश्वास छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend