logo

२०८३ साउन १३ बुधबार

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन


हाम्रो राष्ट्र
  • मंगलबार, २३ पुष २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ ।

    यही जनवरी ५ (पुस २१ गते) अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम्ती शिविर सञ्चालन गरी सरकारले श्रम सुशासनका क्षेत्रमा अवलम्बन गरेका नीतिगत, कानुनी तथा प्रक्रियागत सुधारका बारेमा जानकारी गराएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

    दूतावासले सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, सोको प्रक्रिया, तथा औपचारिक माध्यमबाट विप्रेषण पठाउँदा प्राप्त हुने फाइदा, पुनःश्रम स्वीकृतिसम्बन्धी व्यवस्था, वित्तीय साक्षरतालगायत विविध विषयमा जानकारी दिएको हो ।

    उक्त घुम्ती शिविरमा तीन सय ३५ जना नेपालीको राहदानी नवीकरण गर्नुका साथै त्यहाँ उपस्थित पाँच सय ५० नेपाली श्रमिकलाई नेपाल र युएईका विद्यमान श्रम कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो ।

    राहदानीको म्याद समाप्त भइसकेका, प्रवेशाज्ञाको म्याद समाप्त भइसकेका र राहदानी हराई समस्यामा परेका व्यक्तिको राजदूतावासले प्राथमिकताका साथ नवीकरण गर्ने गरिएको नेपाली राजदूतावास अबुधाबीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शिविरबाट नेपाली श्रमिकले विद्यमान कानुनी प्रक्रियाकाबारे जानकारीसहित राहदानी नवीकरणको सुविधा पाएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend