डोटी: गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएको छ । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले आज(शनिवार) आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गर्नु भएको हो ।उहाँले भन्नुभयो, “गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन सक्दैन ।” लोकतन्त्र जस्तो असल व्यवस्था अन्य कुनै हुन नसक्ने गृहमन्त्री लेखकले बताउनु भयो । उहाँले थप्नु भयो, “आन्दोलनबाट क्रान्तिबाट राजा फालिसकेपछि त्यसै देशमा राजा बसेको उदाहरण संसारमा कमै छन् । नागरिकका सबै अधिकार उपभोग गर्ने, राज्यले सुरक्षा प्रदान गर्ने र लोकतन्त्रका सबै अधिकार उपभोग गरेर बस्ने उदाहरण कम देखिन्छन् तर हाम्रो लोकतन्त्र यति सुन्दर, यति उन्नत, यति संयमित र आदर्श लोकतन्त्र हामी कहाँ छ ।”लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उहाँले बताउनुभयो । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उहाँको दाबी छ । उहाँले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिनुभएको छ । अर्को प्रसङ्गमा गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा गृहकार्य भइरहेको बताउनु भएको छ । सरकार गठन पूर्व नेपाली काँग्रेस नेकपा एमाले बिच भएको समझदारी अनुसार संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भई गृहकार्य अघि बढेको र सबैको सहमतिमा संविधान संशोधन हुने गृहमन्त्री लेखकले बताउनुभयो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend